add

नेपाली र नेपाल भाषाको दुई म्युजिक भिडिओ लोकार्पण

Swoniga Online – स्वनिगः अनलाइन | २०८० माघ २१, आइतबार वर्गीकृत कला

पाटन/२१ माघ: युवा गायक बिरज महर्जनको आवाजमा रेकर्ड भएको नेपाली र नेपाल भाषाको दुई म्युजिक भिडिओ लोकार्पण भएको छ । सुन्धारास्थित सीटीसी मलमा शनिबार आयोजित एक भव्य समारोहमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले उक्त भिडिओ लोकार्पण गर्नुभएको हो ।

समारोहमा नेपाली भाषाको ‘तिमी आउने बाटो भरि’ र नेपाल भाषाको ‘नक्कलिम्ह मय्जु’ गीतका म्युजिक भिडिओ प्रदर्शन गरिएसँगै ओएसआर डिजिटल नामक युट्युब च्यानलबाट विश्वव्यापी रुपमा रिलिज भएको जानकारी समेत गराईएको थियो । बद्रि देसारको शब्द र सङ्गीत रहेको नेपाली भाषाको गीतमा जुगल डंगोलले सङ्गीत संयोजन गर्नु भएको छ भने सायद कार्कीको निर्देशनमा भिडिओ छायाङ्कन भएको हो ।

https://youtu.be/C140VM_EPlA

प्रद्युम्न मिश्रको सिनेमाटोग्राफी र कृष्ण भण्डारीको सम्पादन रहेको यस म्युजिक भिडिओमा अभिषेक जोशी, मिशेल घिमिरे र कृष्णभक्त महर्जनले अभिनय गर्नु भएको छ । मौलिक, सिर्जनशील र फरक प्रकृतिको प्रस्तुति रहेको यस म्युजिक भिडिओको समारोहमा उपस्थित धेरैले खुलेर प्रशंसा गर्नु भएको थियो ।
नेपाल भाषाको अर्को गीत ‘नक्कलिम्ह मय्जु’ सुरजवीर महर्जनले रचना गर्नु भएको हो भने यसमा प्रसिद्ध सर्जक जुगल डंगोलको सङ्गीत तथा सङ्गीत संयोजन रहेको छ । रामकृष्ण खड्गीको परिकल्पना एवं निर्देशनमा छायाङ्कन भएको यस म्युजिक भिडिओमा रकी महर्जनको सिनेमाटोग्राफी र आर.आर. ले सम्पादन गर्नु भएको हो । भिडिओमा मनोज महर्जन र हसना महर्जनको अभिनय रहेको छ । समारोहमा मनोज र हसनाको अभिनयको पनि तारिफ भएको थियो । गायक बिरजका वरिष्ठ सङ्गीत गुरुद्वय धन बहादुर गोपाली र सङ्गीता प्रधान रानाले गायकीको खुलेरै प्रशंसा गर्नु भएको थियो । दुबै म्युजिक भिडिओका निर्माता विनोद महर्जन र रत्नकुमारी महर्जन हुनुहुन्छ ।

https://youtu.be/w44ebq7CK5A