add

राष्ट्रिय मुक्ति क्रान्तिले आन्दोलनका थप कार्यक्रम घोषणा गर्दै

Swoniga Online – स्वनिगः अनलाइन रिपाेर्टर | २०८० चैत्र २६, सोमबार वर्गीकृत राजनीति

बहुल राष्ट्र र बागमति प्रदेश नाम खारेज गरी नेपाः मण्डल नाम कायम गर्नुपर्ने माग सहित काठमाडौंमा भएको प्रदर्शनमा परिक्षा पोडे पनि पुगेकी थिइन् ।

४ फिट उचाई भएकी उनी कहिले जातको कुरामा त कहिले आफ्नो उचाईँको कुरा लिएर समाजको अपहेलना भोग्नुपरेको उनको पीडा हो ।

समाजमा यस्तो विभेदको अन्त्य होस्, समावेशी र समानतासहितको बहुलराष्ट्र स्थापना होस् भन्ने चाहनासहित प्रदर्शनमा सहभागी भएको उनको भनाई छ । प्रदर्शनको क्रममा प्रहरीको लाठी चार्जमा परेर उनी पनि घाइते भइन् ।

‘मैले जस्तै जातको, धर्मको, भुगोलको आदि विभिन्न कुरामा अपहेलना भोगिरहेका धेरै छन् । यस्तो विभेदको अन्त्य होस् भन्नु हाम्रो गलती थियो र ? राज्यले यसरी दमन गर्नुपर्ने कारण के थियो ?’ परीक्षाले प्रश्न गरिन् ।

गत शनिबार वागमती प्रदेशको नाम परिवर्तन गरी नेपाः मण्डल राख्न माग गर्दै राष्ट्रिय मुक्ति क्रान्ति अभियानले काठमाडौंमा विशाल र्‍यालीसहित प्रदर्शन गरेको थियो ।

अभियान अन्तर्गतको स्वनिगः (उपत्यका) विशेष ब्यूरो नेवाः राष्ट्रिय परिषदले आयोजना गरेको प्रदर्शन भद्रकाली पुगेपछि प्रहरीले हस्तक्षेप गर्दा एक प्रहरी र परीक्षासहित ३० जना प्रदर्शनकारी घाइते भएका हुन् ।

‘बहुलराष्ट्रिय राज्य स्थापना गर, बागमति प्रदेश नाम खारेज गर, नेपाः मण्डल कायम गर’ लगायतका नारा लगाउँदै अगाडी बढेको प्रदर्शन भद्रकालीतर्फ पुग्दा निषेधित क्षेत्र भन्दै प्रहरीले रोकेको थियो ।

परिषदका संयोजक सुमन सायमीले भने आफुहरु भद्रकाली घुम्दै अगाडी जान मात्र खाजेको तर त्यत्तिकैमा प्रहरीले लाठी चार्ज गरेको दावी गरे ।

‘देउताको दायाँबाट घुम्ने हाम्रो चलन छ । भद्रकाली घुमेर अगाडी आई कोणसभा गर्न खोजेका थियौं तर प्रहरीले एकैपटक हामीमाथि दमन सुरु गर्यो र निर्मम तरीकाले लाठीचार्ज गरी हाम्रा साथीहरुलाई घाइते बनाइदियो’ संयोजक सायमीको भनाई हो ।

प्रहरीले प्रदर्शनकारीहरुलाई निर्ममतापुर्वक लाठी चार्ज गर्दै दमन गरेको र महिला, भिक्षुहरुलाई हात हालेको परिषदकी विद्या श्रेष्ठले बताइन् ।

‘सबैको अपनत्व हुने बहुलराष्ट्रिय स्थापना गर, यहिँकै ईतिहास र संस्कृतिसँग जोडिएको नाम प्रदेशलाई देउ भन्दा राज्यलाई किन टाउको दुखेको हो, हामीलाई थाहा छैन । के हामीले गलत कुरा गरेका थियौं र ?’ श्रेष्ठले भनिन् ।

झडपको क्रममा प्रहरीको तर्फबाट प्रहरी जवान रामसिंह बोहरा पनि घाइते भएको र उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस अघि परिषदको आह्वानमा काठमाडौँको दरवार क्षेत्र बसन्तपुरबाट बृहत जनप्रदर्शन र्‍याली सुरु भएको थियो ।

विभिन्न समुदायको सांस्कृतिक बाजागाजासहित वसन्तपुरबाट अघि बढेको र्‍याली काठमाडौंको बिभिन्न स्थान हुदै टुँडिखेलबाट भद्रकाली पुगेर कोण सभा गर्ने कार्यक्रम तय भएको थियो । तर प्रहरीले हस्तक्षेपपछि कोणसभा भने हुन सकेन ।

र्‍यालिमा हजारौंको संख्यामा सहभागीता रहेको थियो ।

जनप्रदर्शनकमा नेवाः समुदायका सामाजिक अभियन्तालगायत मधेसी, तामाङ, च्योबाङ, गुरूङ, राई, बाहुन, क्षेत्री, थारू, लिम्बू, शेर्पा, कुसुन्डालगायत नेपालमा रहेका सम्पूर्ण जातिको सहभागिता रहेको परिषदले जनाएको छ ।

राज्यले नेवाः लगायत आदिवासी जनजातिको पहिचान, संस्कृति मेटाउने काम निरन्तर गर्दै आएको र यहाँको मूर्त, अमूर्त संस्कृति, सम्पदा बचाउनका लागि यो आन्दोलन निरन्तर हुने परिषदले जनाएको छ ।

नेवाः लगायत नेपालका राज्यविहिन राष्ट्रहरूमाथि कायम औपनिवेशिकताको अन्त्य गर्दै नेपाः मण्डल सहित बहुलराष्ट्रिय राज्य नेपाल स्थापना गर्नुपर्ने माग नेवाः राष्ट्रिय परिषदले राख्दै आएको छ ।

यसैबीच आज परिषदले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दैछ । पत्रकार सम्मेलनबाट आन्दोलनका नयाँ कार्यक्रमहरु घोषणा गरिने अनुमान गरिएको छ ।